
काठमाडौं–मुग्लिन यात्रामा वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह
काठमाडौं – जिल्ला प्रशासन कार्यालय धादिङले काठमाडौं–मुग्लिन यात्रा गर्दा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० को जवाङखोलामा आज बिहान खसेको सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको हो ।
प्रशासनका अनुसार, वैकल्पिक मार्गका रूपमा गोरखा, लम्जुङ पोखरातर्फ जाने साना तथा मझौला सवारीसाधनले मलेखु–धादिङबेँसी–आरूघाट मध्यपहाडी राजमार्ग, गोरखा बजार हुँदै आँबुखैरेनी, मध्यपहाडी राजमार्ग हुँदै डुम्रेको सडक प्रयोग गर्न सक्नेछन् ।
“…अन्य स्थानतर्फ जाने ठूला तथा साना सवै सवारी साधनले सुरक्षा निकायसँग समन्वय तथा निर्देशनमा लेन अनुशासन कायम गरी अन्य वैकल्पिक मार्गको प्रयोग गर्नु हुन हार्दिक अनुरोध छ,” प्रशासनले भनेको छ ।
मंगलबार (आज) बिहान ९:४५ बजे निकालिएको सूचनाअनुसार, पहिरो पन्छाउन करिब पाँच घण्टा लाग्ने अनुमान गरिएको छ ।



कागजपत्र |
