
वीरगन्ज आगजनीमा घाइते भएकी महिलाको बर्न अस्पतालमा मृत्यु
पर्सा – जेन–जी आन्दोलनका क्रममा पर्साको वीरगन्जमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुङ्टाको घरमा भएको आगजनीमा परेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ।
भदौ २४ गते राति भएको आगलागीमा पर्साको सखुवाप्रसौनी गाउँपालिका–२ की ४५ वर्षीया शोशिला देवी हजरा गम्भीर घाइते भएकी थिइन्। उपचारका क्रममा उनको सोमबार काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए। हजरा रुङ्टाको घरमा काम गर्ने कर्मचारी थिइन्।
आगलागीमा उनको शरीरको करिब ५० प्रतिशत भाग जलेको थियो। घटना लगत्तै उनलाई वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो। तर अवस्था गम्भीर भएपछि थप उपचारका लागि काठमाडौंको बर्न अस्पताल सारिएको थियो।
उक्त घटनामा भारत बिहारको सुगौलीका १८ वर्षीय विनय यादव पनि गम्भीर घाइते भएका छन्। उनको शरीरको ९० प्रतिशत भाग जलेको छ। हाल उनी कीर्तिपुर बर्न अस्पतालमै उपचाररत छन् र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
