ओली डेरामा पुगेपछि नगरपालिकाले सतर्कता बढायाे, अब भाडावालाले ३ पुस्ते विवरण बुझाउनुपर्ने


भक्तपुर – जेन जी आन्दोलनको आक्रोशमा बालकोटस्थित निवास जलेपछि नेकपा (एमाले) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अहिले भक्तपुरकै सूर्यविनायक–७ गुन्डुमा भाडाको घरमा बसिरहेका छन्।

ओली डेरामा सरेसँगै सूर्यविनायक नगरपालिकाले आकस्मिक कदम चालेको छ। नगरपालिकाका सबै वडाले अबदेखि भाडामा बस्ने व्यक्तिहरूको ३ पुस्ते विवरण अनिवार्य खुलाउनुपर्ने निर्णय गरेका छन्।

सुरक्षाको कारण देखाउँदै वडा कार्यालयहरूले धमाधम सूचना जारी गर्दै घरधनीलाई सचेत गराएका छन्। सूचनामा भाडामा बस्नेहरूको नागरिकताको फोटोकपी, पारिवारिक विवरण, पेसा–व्यवसायलगायत सम्पूर्ण विवरण वडा कार्यालयमा बुझाउनुपर्ने उल्लेख छ।

वडा नं ५ का अध्यक्ष राजकुमार जोशीका अनुसार यो निर्णय कार्यपालिकाको बैठकबाट पारित भएको हो। उनका अनुसार, घरधनीहरूले बहालमा बस्नेको विवरण बुझाएपछि मात्र प्रहरी र स्थानीय सरकारलाई निगरानी सजिलो हुन्छ।

१० वडा रहेको सूर्यविनायक नगरपालिकामा अध्यक्ष ओली डेरामा बस्न थालेपछि सुरक्षा सतर्कता उच्च बनाइएको एक वडाध्यक्षले जानकारी दिए।

 

प्रतिक्रिया