यूएईले भिसा रोकेपछि वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक शृंखला संकटमा


काठमाडौं-  नेपाली क्रिकेट इतिहासकै बहुप्रतिक्षित शृंखला अनिश्चिततामा फसेको छ। वेस्ट इन्डिजजस्तो विश्व च्याम्पियन टोलीसँग पहिलो पटक टी–२० शृंखला खेल्ने तयारीमा रहेको नेपाललाई युनाइटेड अरब इमिरेट्स (यूएई)ले अन्तिम क्षणसम्म पनि भिसा नदिँदा ‘युनिटी कप’ संकटमा परेको हो।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार  नै बिदाइ कार्यक्रम राखिसकेको थियो। तर, शुक्रबार बिहानै उड्ने तालिका बनेको नेपाली टोली अझै कागजी अड्चनमै अल्झिएको छ।

“प्रक्रिया त सबै पूरा भएको छ, तर भिसा अझै आएको छैन। आउँछ भन्ने आशामा बसिरहेका छौँ। तर नआएमा त शृंखला नै रद्द हुन्छ,” क्यानका प्रवक्ता छुम्बी लामाले भने

यदि भिसा नआए वेस्ट इन्डिजसँगको यो ऐतिहासिक भिडन्त खेलमै अघिबाट ‘क्लिन बोल्ड’ हुने स्थिति बनेको छ। नेपाली क्रिकेट फ्यानहरूले दशकौँदेखि प्रतीक्षा गरेको मौका प्रशासनिक झन्झटले ‘डक आउट’ हुनसक्ने जोखिम देखिएको छ।

यसअघि नै तालिका सार्वजनिक भइसकेको शृंखला सेप्टेम्बर २६ देखि शारजाह क्रिकेट रंगशालामा हुने तय थियो। नेपालले सेप्टेम्बर २७, २९ र ३० मा तीन खेल खेल्ने कार्यक्रम रहेको छ। तर अहिलेको अवस्थामा सबथोक भिसाको भरमा अड्किएको छ।

प्रतिक्रिया