प्रतिनिधिसभाबाट सरकार गठन असम्भव भएकाले सहमतिमूलक अन्तरिम सरकार बनेको राष्ट्रपतिको स्पष्टीकरण


काठमाडौं-  राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनका दुई दिनमा देशले अकल्पनीय मानवीय र भौतिक क्षति व्यहोरेको भन्दै लोकतन्त्रको रक्षाका लागि नयाँ जनादेश अपरिहार्य भएको बताएका छन्।

संविधान दिवसको अवसरमा शुक्रबार शीतल निवासमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्दै उनले अहिलेको अन्तरिम सरकार आम सहमतिबाट बनेको र ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

राष्ट्रपति पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै सम्भावना नभएकाले संसद विघटन गरी सहमतिमूलक बाटो रोजिएको स्पष्ट पारे। उनले भने, “प्रतिनिधिसभाबाट मन्त्रिमण्डल गठन गर्ने कुनै उपाय नभएकाले यो कदम चालिएको हो। अबको मुख्य कार्यभार भनेको ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्नु हो।”

उनले नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्दै मुलुकको आगामी बाटो तय गर्ने विश्वास व्यक्त गरे। राष्ट्रपति पौडेलले सबै राजनीतिक दल, मुलुकको शासन–व्यवस्थापनमा संलग्न निकाय, बौद्धिक समुदाय र नागरिक समाजलाई सहमति र सहकार्यका साथ निर्वाचनको सफलतामा योगदान दिन आह्वान गरे।

 

प्रतिक्रिया