कहिले खुल्छ माैसम ?


काठमाडौं- नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार मनसुन सक्रिय रहेकाले तत्काल बर्हिगमन हुने देखिएको छैन ।

भारतमा औसतको तुलनामा करिब दुई दिन छिटोगरी मनसुन बर्हिगमन भइरहेको छ । नेपालमा अक्टोबर २ तारिखमा मनसुन सकिने समय हो । नेपालमा यसपाली १५ दिन छिटो मनसुन प्रवेश गरेको थियो । नेपालमा मनसुन भित्रिने मिति सरदर जुन १३ हो ।

मनसुन जारी रहेकाले आगामी दिन पनि वर्षाको हुने महाशाखाले उल्लेख गरेको छ । यद्यपि, तुलनात्मक रुपमा मनसुन क्रमशः कमजोर हुँदै गइरहेको छ । मनसुन आज भन्दा शनिबार कमजोर हुने महाशाखाको पूर्वानुमान छ । ठूलो वर्षाको सम्भावना नरहे पनि खण्डित रुपमा ४० मिलिमिटरसम्म वर्षा हुने जनाइएको छ ।

भाेलि कोसी, वाग्मती र गण्डकी प्रदेशलगायत देशका बाँकी भू–भागमा साधारणतया बदली रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशलगायत बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्फयुक्त हावाकोसमेत प्रभाव रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया