
विघटित प्रतिनिधिसभाका सभामुख घिमिरेले भने: विकल्प खोजेको भए संसद विघटन आवश्यक पर्दैनथ्यो
काठमाडौं – विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद भवनसहित सार्वजनिक सम्पत्तिमा भएको तोडफोड र आगजनीप्रति गहिरो दुःख व्यक्त गरेका छन्। बिहीबार संसद भवनको अवलोकनपछि पत्रकारहरूसँग कुरा गर्दै उनले जेनजी आन्दोलनका क्रममा भएको घटना दुखद् भएको बताए।
“जेनजी आन्दोलनका क्रममा संसदसहितका संरचना ध्वस्त भएका छन्,” घिमिरेले भने, “तर अब क्षति र हानीबाट उठेर अघि बढ्नुपर्छ।”
त्यसैगरी उनले संसद विघटनका विषयमा अन्य विकल्प खोजिएको भए राम्रो हुने धारणा राखे। “राजनीतिक निकासका लागि सबै पक्ष तयार हुनुपर्छ,” उनले थपे, “संसद विघटन नगरी विकल्पहरूबारे खोजिएको भए अझ राम्रो हुने थियो।”
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा अहिलेसम्म ७४ जनाको मृत्यु भइसकेको छ। सो आन्दोलनकै परिणामस्वरूप केपी शर्मा ओली नेतृत्वको शक्तिशाली भनिएको सरकार पतन भई हाल पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको हो।
नवगठित अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गराउने जिम्मेवारी पाएको छ।



कागजपत्र |
