एनआईसी एशियाका सीईओ रोशन न्यौपानेको राजीनामा


काठमाडौं – एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले पदबाट राजीनामा दिएका छन्। यससँगै उनले ७ वर्ष लामो सीईओ कार्यकाललाई पूर्णविराम दिएका हुन्।

न्यौपानेले बुधबार बैंक सञ्चालक समितिसमक्ष राजीनामा पेश गरेका थिए। त्यसलाई बिहीबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो।

बैठकले तत्काल नायब कार्यकारी अधिकृत सन्तोष कुमार राठीलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको छ।

न्यौपाने दोस्रोपटक २०७९ कात्तिक १६ गते ४ वर्षका लागि सीईओ नियुक्त भएका थिए। तर, निर्धारित कार्यकाल पूरा गर्नुअघि नै राजीनामा दिएर बैंक नेतृत्वबाट अलग हुने निर्णय गरेका हुन्।

बैंक अफ एशिया नेपाल लिमिटेडमार्फत सन् २००८ अप्रिलमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारी सम्हाल्दै बैंकिङ क्षेत्रमा प्रवेश गरेका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत बनेका थिए।

त्यसपछि केही समय निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा बैंक नेतृत्व सम्हाल्दा उनले विविध सूचकहरूमा उल्लेखनीय प्रगति हासिल गरे। यही सफलतापछि २०७५ मंसिर १६ गते पहिलोपटक एनआईसी एशिया बैंकको सीईओमा नियुक्त भएका थिए।

प्रतिक्रिया