तेस्रो नेगेटिभ सर्किटपछि सेयर कारोबार बन्द


काठमाडौं – नेप्से परिसूचकमा लगातार तेस्रोपटक नकारात्मक सर्किट लागेपछि आज (बिहीबार) का लागि सेयर कारोबार बन्द गरिएको छ।

बजार ६ प्रतिशतले ओरालो झर्दै तेस्रो सर्किट ब्रेक लागेपछि सम्पूर्ण कारोबार रोकिएको हो।

जेन–जी आन्दोलनपश्चात खुलेको सेयर बजार विहानै दबाबमा परेको थियो। सुरुमा नेप्से ४ प्रतिशतले घटेपछि पहिलो सर्किट ब्रेक लाग्यो र कारोबार २० मिनेटका लागि रोकियो। त्यसपछि ११:२२ मा पुनः खुलेको बजार १ मिनेटमै थप १ प्रतिशत घट्दा दोस्रो सर्किट ब्रेक लाग्यो र ४० मिनेटका लागि कारोबार रोकिन बाध्य भयो।

१२:०३ मा खुलेको बजार फेरि तीन मिनेटमै १ प्रतिशतले घट्दा तेस्रो सर्किट ब्रेक लाग्यो र आजका लागि सेयर कारोबार पूर्णरूपमा बन्द गरियो।

बजारमा बेच्नेको भीड बढ्दा खरिदकर्ताको संख्याले साथ दिन सकेन। राजनीतिक अनिश्चितता र आन्दोलनपश्चातको त्रासका कारण लगानीकर्ता अत्तालिँदा आज कारोबारमा आएका २१७ कम्पनीको सेयर घटेको छ भने जम्मा ९ कम्पनीको मात्र सेयर मूल्य बढेको छ।

प्रतिक्रिया