शेयर बजारमा पहिरो, दुई पटक नेगेभिट सर्किट


काठमाडौं – साताको अन्तिम दिन सेयर बजार ठुलो अंकले ओरालो लागेको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) खुल्नेबित्तिकै बजारमा लगातार नकारात्मक सर्किट लाग्दा लगानीकर्ता निराश बनेका छन्।

गत भदौ २३ र २४ गते देशभर जेन–जीका नाममा भएको विध्वंसक आन्दोलनपछि पहिलोपटक खुलेको बजार राताम्य बनेको हो। बजार खुलेको दुई मिनेटमै १०७.०४ अंक अर्थात् ४ प्रतिशतले घटेपछि पहिलो नकारात्मक सर्किट लाग्दा कारोबार २० मिनेटका लागि रोकिएको थियो।

२० मिनेटपछि फेरि खुलेको बजारमा झन् ठूलो गिरावट आएको छ। दोस्रोपटक १३३.६१ अंक अर्थात् ५ प्रतिशतले ओरालो लाग्दा अर्को नकारात्मक सर्किट लाग्यो र बजार ४० मिनेटका लागि पुनः बन्द भयो।

यसरी दोस्रो नकारात्मक सर्किट लागेपछि नेप्से २५३८.६३ बिन्दुमा झरेको छ।

नियमअनुसार, बजार खुलेको पहिलो घण्टाभित्र ४ प्रतिशतले बढ्दा वा घट्दा सर्किट लाग्छ र कारोबार २० मिनेटका लागि रोकिन्छ। दोस्रो घण्टाभित्र ५ प्रतिशत उतारचढाव हुँदा कारोबार ४० मिनेट रोकिने प्रावधान छ। त्यस्तै, कुनै दिन ६ प्रतिशतभन्दा बढी उतारचढाव भए सो दिनका लागि बजार नै बन्द हुने नियम लागू हुन्छ।

प्रतिक्रिया