
पनौती आगजनीको कमान्ड गर्ने रास्वपा सभापति र इन्चार्जले पार्टी छाडे
काठमाडौं- जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडमा संलग्न भएको प्रमाण सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनौती नगर सभापति विवेक भट्टराई र वडा इन्चार्ज सुदर्शन तिमल्सिनाले पार्टी परित्याग गरेका छन्।
भदौ २४ गते पनौती नगरपालिकाभित्र निजी तथा सरकारी सम्पत्तिमा आगजनी र तोडफोड भएको थियो। सो क्रममा पूर्व मेयर भीम न्यौपाने, उपमेयर गीता बन्जारा, कांग्रेस नेता शिव हुमागाईँ, व्यवसायी क्याप्टेन रामेश्वर थापा लगायतको घरमा क्षति पुगेको थियो।
भिडिओ र फोटोमार्फत उनीहरूको प्रत्यक्ष संलग्नता प्रमाणित भएपछि भट्टराई र तिमल्सिनाले गल्ती स्वीकार गर्दै पार्टी छाड्ने घोषणा गरेका हुन्। पनौतीमा तोडफोड र आगजनीको कमान्ड नै उनीहरूले सम्हालेको बताइएको छ।
नगर सभापति भट्टराई काठमाडौँ विश्वविद्यालयअन्तर्गत कुप्स विद्यालयमा स्थायी शिक्षकसमेत रहेका छन्। विद्यालयले उनी स्थायी शिक्षक भएको पुष्टि गरेको छ।
यस्तै, पनौती–२ कुशादेवीका तिमल्सिनाले आन्दोलनमा आफूहरूबाट कमजोरी भएको स्वीकार गर्दै अब राजनीतिबाट अलग हुने घोषणा गरेका छन्।
यस्तै रास्वपाका नगर सचिव दिनेश श्रेष्ठले विध्वंशकारीको भीडलाई नेतृत्व गर्दै आगजनीमा संलग्न भएको पुष्टी भएको छ । उनले भिडको नेतृत्व गर्दै माइकिङ गर्दै भिडलाई उक्साइरहेको पनि स्थानीयहरुले जनाएका छन् ।



कागजपत्र |
