सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय गलत : गगन थापा


काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने सरकारको निर्णय गलत भएको भन्दै यसमाथि पुनर्विचार गर्न आग्रह गरेका छन्। बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, एक्सलगायतका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेपछि उनको यो प्रतिक्रिया आएको हो।

थापाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै सर्वोच्च अदालतले सामाजिक सञ्जालमा हुने दुरुपयोगलाई नियन्त्रण गर्न कानुनी व्यवस्था गर्न मात्र भनेको तर निर्देशिकाका आधारमा बन्द गर्न नभनेको स्पष्ट पारेका छन्। उनले सामाजिक सञ्जालसम्बन्धी कानुन राष्ट्रिय सभामा विचाराधीन रहेकाले त्यसलाई छिटो अगाडि बढाउन सरकारलाई सुझाव दिएका छन्।

महामन्त्री थापाले आजको युगमा सामाजिक सञ्जाल नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सार्वजनिक बहस र सरकारलाई जवाफदेही बनाउने महत्त्वपूर्ण माध्यम बनेको बताएका छन्। यसलाई बन्द गर्दा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकार सङ्कुचित हुने उनको भनाइ छ।

उनले यो विषय साइबर जोखिमसँग पनि जोडिएको भन्दै सरकारले यसमा सन्तुलित र विवेकपूर्ण निर्णय लिनुपर्नेमा जोड दिए। अन्त्यमा उनले सरकारलाई आफ्नो निर्णय पुनर्विचार गर्न र सामाजिक सञ्जाललाई सुरक्षित बनाउन तथा नियमन गर्नका लागि आवश्यक कानुन छिटो निर्माण गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया