
ओली–सी भेटमा जीएसआई समर्थनबारे कुनै सहमति भएन : डा. खतिवडा
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भएको दुई पक्षीय भेटवार्तामा चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) मा नेपालले समर्थन गर्ने कुनै सहमति नभएको प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले स्पष्ट पारेका छन्।
भेटवार्तामा सहभागी पूर्वअर्थमन्त्री खतिवडाले नेपाल संविधान र असंलग्न परराष्ट्र नीतिप्रति अडिग रहेको उल्लेख गर्दै, “नेपाल कुनै पनि मुलुकको सुरक्षा रणनीतिको अङ्ग बन्न सक्दैन,” भन्ने धारणा व्यक्त गरे।
शाङ्घाइ सहयोग संगठन (एससीओ) प्लस शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा भदौ १४ गते प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच भेट भएको थियो। भेटपछि चीनतर्फबाट जारी विज्ञप्तिमा नेपालले जीएसआईमा समर्थन गरेको आशय उल्लेख भएपछि विभिन्न प्रश्न उठेका थिए। तर खतिवडाले भने, “यस्ता सम्मेलनका साइडलाइन वार्तामा कुनै सहमति वा समझदारीमा हस्ताक्षर हुँदैन। सहमति नै नभएको विषयलाई नेपालले समर्थन गरेको भनी प्रचार गर्नु गलत हो।”
उनका अनुसार छलफलमा बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआइ) अन्तर्गतका सहमतिहरू कार्यान्वयन गर्ने विषयलाई प्राथमिकता दिइएको थियो। साथै, नेपाल–चीनबीच सम्पर्क सञ्जाल विस्तार, औद्योगिक तथा पूर्वाधार विकास, स्वास्थ्य, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान–प्रविधि, खेलकुद, प्राकृतिक प्रकोप व्यवस्थापन, जनस्तरमैत्री सम्बन्ध र गरिबी निवारणलगायत क्षेत्रमा सहकार्य बढाउनेबारे छलफल भएको थियो।
यस्तै, ओलीको यसअघि चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री लि छ्याङको उपस्थितिमा टोखा–छहरे सुरुङमार्ग, नेपाल–चीन व्यापार विस्तार र भैँसीको मासु चीन निर्यातसम्बन्धी सहमतिमा हस्ताक्षर भएको थियो।



कागजपत्र |
