
डाक्टर गोविन्द केसी गेटामा सुरु गरे २३औं सत्याग्रह
काठमाडौं – चिकित्सा शिक्षा अभियन्ता प्रा. डा. गोविन्द केसीले निजी मेडिकल कलेजका सिट बढाउने निर्णय फिर्ता गर्न माग गर्दै आइतबारदेखि तीन दिने २३औं सत्याग्रह सुरु गरेका छन्। कैलालीकाे गेटास्थिति दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा अनसन बस्ने बताउँदै उनले देशभर सरकारी मेडिकल कलेज र अस्पताल तत्काल सञ्चालनमा ल्याउनुपर्ने जोड दिएका छन्।
डा. केसीका अनुसार करिब दुई दशकदेखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार गर्दै सर्वसाधारणको पहुँच सुनिश्चित गर्न संघर्ष हुँदै आएको भए पनि हालका केही निर्णयहरूले चिकित्सा शिक्षा ऐनको मर्मलाई धरापमा पारेका छन्। उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष हस्तक्षेपमा चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजको सिट वृद्धि गर्ने गैरजिम्मेवार निर्णय लिएको हो।
उनले उदाहरणका रूपमा त्रिवि शिक्षण अस्पतालजस्तो प्रतिष्ठित संस्थाले आधारभूत पूर्वाधार र बिरामी चाप नपुगेर १०० विद्यार्थी भर्ना गर्न हिच्किचाइरहेको बेला सुविधा अभाव भएका निजी कलेजलाई १३० सिट दिने निर्णय दुर्भाग्यपूर्ण भएको बताए। यसले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर खस्काउने मात्र नभई आम नेपालीको स्वास्थ्य अधिकारमाथि प्रहार गर्ने उनले दाबी गरेका छन्। डा. केसीले इलाम, उदयपुर, डडेलधुरा जिल्लामा सरकारी मेडिकल कलेज र अस्पताल तत्काल सञ्चालन गर्नुपर्ने, साथै निर्माण सम्पन्न भएर पनि सञ्चालनमा नआएको कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै सेवा विस्तार गर्नुपर्ने माग राखेका छन्।
यस्तै, उनले भारतले लिपुलेक हुँदै व्यापार गर्ने सहमति गरेको समाचारप्रति आपत्ति जनाउँदै सीमा मिचाइ तत्काल रोक्न आग्रह गरेका छन्। साथै, रुसको युक्रेनमाथिको आक्रमण र इजरायलको गाजामाथिको युद्धलाई मानवताविरोधी अपराध भन्दै ती युद्धहरू तत्काल अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।
शिक्षा र स्वास्थ्य क्षेत्रमा निहित स्वार्थका आधारमा गरिएका निर्णयहरूले आम नागरिकको हितभन्दा नेता र माफियाको स्वार्थलाई प्राथमिकता दिएको भन्दै डा. केसीले त्यसविरुद्ध सत्याग्रहमा उत्रिन बाध्य भएको स्पष्ट पारेका छन्।



कागजपत्र |
