
पर्सामा हैजा संक्रमित १७५ पुगे, वीरगञ्जमै ८०० भन्दा बढी बिरामी
पर्सा – पर्सामा हैजा सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भदौ ६ गते शुक्रबार पहिलो पटक ३ जनामा पुष्टि भएको हैजा आज बिहानसम्म बढेर १७५ जनामा पुगेको छ।
संक्रमितमध्ये १५९ जना वीरगञ्ज महानगरपालिकाका र १६ जना पोखरिया नगरपालिकाका छन्। वीरगञ्जमा मात्रै हालसम्म झाडापखालाका ८०४ जना बिरामी अस्पताल भर्ना भएका छन्। तीमध्ये हिजो बिहान १० बजेपछि मात्रै ३० जना नयाँ बिरामी थपिएका छन्।
हालसम्मका ८०४ जना बिरामीमध्ये ४७ जना हैजा संक्रमितसहित १९५ जना अझै उपचाररत छन्। पोखरियामा पनि हिजो बिहानपछि थप २ जना भर्ना भई कुल ३० जना पुगेका छन्, जसमा १६ जनामा हैजा पुष्टि भएको छ।
सरकारले नियन्त्रण प्रयास भइरहेको दाबी गरे पनि बिरामी थपिने दर हेर्दा अवस्था अझै जटिल देखिएको छ। हैजा समुदायस्तरमै फैलिएको भन्दै वीरगञ्ज महानगरपालिकाले एक हप्तादेखि सबै शिक्षण संस्था बन्द गरेको छ। खानेपानी शुद्धीकरण र सरसफाइका अभियानलाई तीव्र बनाइए पनि नयाँ बिरामी भेटिने क्रम रोकिएको छैन।
यसैबीच, शङ्का गरिएको खानेपानीमा हैजाको जीवाणु भेटिएको छैन। संक्रमित भेटिएको १० दिन बितिसक्दा पनि हैजाको वास्तविक स्रोत पत्ता नलागेकाले पर्सामा स्थानीयवासी अझै त्रासमा छन्।



कागजपत्र |
