नेपालमा जापानिज इन्सेफलाइटिसको प्रकोप बढ्दै


काठमाडौं – नेपालमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण तीव्र रुपमा बढ्दै गएको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ।

शाखा प्रमुख डा. अभियान गौतमका अनुसार हालसम्म देशभर १०३ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भइसकेको छ भने २० जनाले ज्यान गुमाइसकेका छन्। उनका अनुसार खोप नलगाएका व्यक्तिहरूमध्ये यो सङ्क्रमण बढी देखिएको छ।

विश्वका करिब ७० देशमा फैलिएको यस रोगबाट १५ वर्षभन्दा माथिका उमेर समूहमा मृत्यु दर ७० प्रतिशतभन्दा बढी रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ। नेपालमै ज्यान गुमाउनेहरू झापा, मोरङ, तेह्रथुम, बारा, सिन्धुली, अर्घाखाँची, प्यूठान, दाङ, बर्दिया, कैलाली, रौतहट, नवलपरासी (पूर्व र पश्चिम) र चितवनमा रहेका छन्।

स्वास्थ्य विज्ञका अनुसार क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफलाइटिस सर्ने गर्छ। यसले मस्तिष्कमा गम्भीर सङ्क्रमण गराई बिरामीको मृत्यु समेत गराउन सक्ने भएकाले सावधानी अपनाउन आवश्यक रहेको उनीहरूले सुझाव दिएका छन्।

प्रतिक्रिया