सरकारबाट बाहिरिँदै एमाले


कर्णाली – एमालेको आइतबार बसेको कर्णाली प्रदेश संसदीय दल बैठकले सरकारमा सहभागी भएका मन्त्रीलाई २४ घण्टाभित्र राजीनामा गराउने निर्णय गरेसँगै आज सरकारबाट बाहिरिने सम्भावना छ।
संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले तीन जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो। प्रमुख सचेतक गुलावजंग शाहले मन्त्रीहरुले आज राजीनामा दिने बताए।
कर्णाली प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उधोग वन ता वातावरणमन्त्री नन्दसिंह बुढा मन्त्री छन्।
दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने ४ चैतको प्रस्तावलाई सदर गर्दै मुख्यमन्त्रीलाई मार्गप्रशस्त गर्न अनुरोध गर्ने निर्णय गरेको थियो।
बैठकले संसदीय दलको विधान संशोधनका लागि प्रमुख सचेतक शाहको संयोजकत्वमा करवीर शाही र मीना रखाल सम्मिलित विधान मस्यौदा समिति गठन गरेको छ। समितिले मंगलबार बस्ने बैठकमा आफ्नो प्रतिवेदन पेस गर्नेछ।

प्रतिक्रिया