चीनमा दुई महिनाकै उच्च संख्यामा भेटिए कोरोना संक्रमित


युनान – चीनमा जनवरी ३१ पछि आइतबार सबैभन्दा धेरै कोरोनाभाइरसका संक्रमित फेला परेका छन्। दक्षिण पश्चिमी प्रान्त युनानको रूइली सहरमा मात्रै आइतबार १५ जनामा संक्रमण देखिएको छ। म्यानमारसँग सीमा जोडिएको यो सहरमा भेटिएका सबै संक्रमित स्थानीय रूपमा संक्रमित भएका हुन्।

विदेशबाट आएका संक्रमितहरू समेत जोड्दा आइतबार संक्रमितको संख्या ३२ पुगेको छ। चीनले लक्षणविहीन संक्रमितलाई संक्रमितको सूचीमा नराखे पनि आइतबार लक्षणविहीन संक्रमितको संख्या १८ जना थियो।

रूइली सहरमा भेटिएका संक्रमितको जेनेटिक एनालाइसिस गर्दा नयाँ संक्रमण म्यानमारबाट आएको देखिएको छ। आइतबार थपिएकामध्ये ११ जना संक्रमित म्यानमारी नागरिक भएको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

अधिकारीहरूले रूइली सहरका नागरिकहरूलाई केही दिनदेखि होम क्वारेन्टिनमा राखेका छन्। गत सातादेखि त्यहाँ ठूलो मात्रामा परीक्षण भइरहेको छ भने सहर छोड्न र प्रवेश गर्न पनि प्रतिबन्ध लगाइएको छ।

कोरोनाको संक्रमण रोक्न अधिकारीहरूले सहरमा खोप अभियानलाई पनि तीव्रता दिएका छन्। कोरोनाभाइरसको उद्गमथलो चीनमा अहिलेसम्म ९० हजार ३०५ जनामा संक्रमण भएको छ भने ४ हजार ६ सय ३६ जनाले ज्यान गुमाएका छन्। एजेन्सी

प्रतिक्रिया