कुवेतमा श्रीमानको मृत्यु भएको खबरले यता पत्नी पनि सधैंका लागि ढलिन्


धनकुटा – महालक्ष्मी नगरपालिका–१ कटहरेका डम्बर मगर र उनकी श्रीमती विद्याको असामयिक निधनले तीन छोरीको भविष्य अन्धकारमय भएको छ। परिवारका कमाउने आधार हराएपछि उनीहरू अब असहाय बनेका छन्।

विदेशी भूमिमा रोटी–रोजी कमाउन गएका ४३ वर्षीय डम्बर मगरको करिब १० दिनअघि कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु भयो। त्यो खबरले नेपालमा बसेकी ३४ वर्षीया विद्यालाई असह्य पीडा भयाे। श्रीमानको मृत्युको खबर सुनेलगत्तै बेहोस भएकी विद्याको तीन दिनमै मृत्यु भयो।

अब उनीहरूले छाडेका तीन छोरी विपना (१७), सञ्जु (१६) र संयुक्त (२) को ज्यान मात्र होइन, जीवनयात्रा पनि संकटमा परेको छ।  विपना–सञ्जु गोकुण्डेश्वर बालमन्दिर विद्यालयमा कक्षा १२ र ११ मा अध्ययनरत छन् भने कान्छी संयुक्त दुई वर्षकी मात्र छिन्। आमा–बुबा दुवैको निधनपछि लालनपालन, पढाइ–लेखाइदेखि दैनिकी सबै चुनौती बनेको छ।

मृतकका भाइ तथा वडासदस्य घनेन्द्र मगरका अनुसार अब तीनै छोरीलाई सम्भाल्ने जिम्मा आफैंमाथि आएको छ। उनले भने, “कमाउने दुवै अभिभावक गुमेपछि छोरीहरूको भविष्य जोगाउन स्थानीय, सरकार र सहयोगी मन भएका सबैलाई अपिल गर्दछौं।”

त्यस्तै वडाध्यक्ष टेकबहादुर गुरुङका अनुसार स्थानीय स्तरमा ‘फन्ड कलेक्सन’ अभियान सुरु गरिएको छ। माइली छोरीको नाममा बैंक खाता खोलिएको छ, जहाँ सहयोग रकम जम्मा भइरहेको छ।

उता कुवेतमा मृत्यु भएका डम्बरको शव अझै नेपाल ल्याइएको छैन। नेपाल ल्याउने प्रक्रिया अघि बढाइँदैछ।

प्रतिक्रिया