नेपाल ‘ए’ले दियो आसामलाई १७४ रनको लक्ष्य


काठमाडौं – भारतीय टोली आसामविरुद्धको दोस्रो खेलमा नेपाल ‘ए’ले १७४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आज गुवाहिटीमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७३ रनको योगफल खडा गरेको हो ।

नेपालका सन्दीप जोराले सर्वाधिक ३५ रन बनाए । उनले ३२ बलमा एक चौका र तीन छक्का प्रहार गरे । पवन सराफ र ओपनर देव खनालले भने समान ३१ रन थपे ।

बसिर अहमदले १६ बलमा एक चौका र दुई छक्कासहित २७ रन बनाए । आक्रामक ब्याटिङ गरेका विवेक यादवले आठ बलमा एक चौका र तीन छक्कासहित २६ रन जोडे । आदील आलम अन्सारीले १४ रन बनाए ।

आसामका आकाश सेन गुप्ताले तीन विकेट लिए । अभिनव चौधरीले दुई विकेट लिँदा आशुष्मान मालाकार र अभिलाश गोगोईले समान एक विकेट लिए ।

नेपाल यसअघि पहिलो खेलमा डकवर्थ लेविस पद्दति अनुसार १५ रनले पराजित भएको थियो ।

 

प्रतिक्रिया