जब बर्थडे मनाउन गएका ४ साथीलाई खुटियाले निल्यो


कैलाली- साथीको जन्मदिन मनाउन गएका चार किशोर कैलालीको खुटिया खोलामा डुबेर ज्यान गुमाएका छन्। गोदावरी नगरपालिका–९ सहरीस्थित झोलुंगे पुलनजिक बिहीबार दिउँसो नुहाउने क्रममा उनीहरूको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–४ का १७ वर्षीय सक्षम जोशी, १६ वर्षीय जेव भण्डारी, उनका जुम्ल्याहा दाजु १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतीक चौधरी रहेका छन्।

प्रहरीका अनुसार सात जना साथीहरूको समूह जन्मदिन मनाउन गएका थिए। खोलामा नुहाउने क्रममा उनीहरूले हात समातेर तर्न खोज्दा चार जना गहिरो भागमा फसे। हात छुटेपछि उनीहरू पानीमै हराए। अन्य तीन जना नवीन डडाल, युवराज कुँवर र आकाश मल्ल भने सकुशल जोगिन सफल भए।

घटनापछि दिउँसो साढे १२ बजे बेपत्ता भएका किशोरहरूको प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा खोजी गरिएको थियो। करिब चार घण्टापछि अपराह्न साढे ४ बजे उनीहरूको शव फेला परेको डीएसपी चन्दले जानकारी दिए।

मृतकहरूमध्ये तीन जना वाल्मीकि इन्टरनेसनल स्कुल र एक जना ग्यालेक्सी स्कुलमा कक्षा ११ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ।

यो घटनापछि धनगढीका चार परिवार शोकमा डुबेका छन् भने स्थानीयले यसलाई असावधानीकै कारण भएको दु:खद घटना बताएका छन्।

प्रतिक्रिया