स्वास्थ्य क्षेत्र प्रदेश सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री बानियाँ


मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा विशेष प्राथमिकता दिँदै कार्य गरिरहेको बताएका छन्।

बिहीबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हालको अवस्था र भावी रणनीतिबारे भएको अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री बानियाँले अन्य विकास योजनाहरू केही समय रोकेरै भए पनि स्वास्थ्यसँग सम्बन्धित कामलाई निरन्तर अघि बढाइने प्रतिबद्धता जनाए।

“पैसाको अभावले प्रतिष्ठानका कुनै पनि काम रोकिँदैन, यो प्रदेशको गौरवको आयोजना हो, यसलाई द्रुत गतिमा अघि बढाउन सरकार पूर्ण प्रतिबद्ध छ,” मुख्यमन्त्री बानियाँले स्पष्ट पार्दै भने।

उनले नेपाली कांग्रेस प्रतिपक्षमा हुँदा पनि प्रदेशसभाबाट सर्वसम्मत रूपमा पारित प्रतिष्ठानसम्बन्धी ऐनलाई स्मरण गर्दै स्वास्थ्य क्षेत्रमा राजनीति नगरी सबै दल एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

प्रतिष्ठानका विभिन्न शैक्षिक कार्यक्रमहरू विभिन्न ठाउँमा छरिएको कारण व्यवस्थापनमा कठिनाइ भइरहेको भन्दै उनले सबै कार्यक्रमलाई एकीकृत भवनमा ल्याउनुपर्नेमा जोड दिए। आवश्यक भौतिक संरचना निर्माणमा प्रदेश सरकार पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए।

प्रतिष्ठानका कुलपति समेत रहेका मुख्यमन्त्री बानियाँले स्वीकृत २०० शैयाको अस्पताल सञ्चालनका लागि तत्काल तयारी गर्न निर्देशन दिए। साथै, निर्माणाधीन बेसिक साइन्स भवनमा ढिलासुस्ती देखिएको भन्दै सम्झौताअनुसार समयमै काम नगर्ने निर्माण कम्पनीलाई कानुनअनुसार कडा कारबाही गर्ने चेतावनी पनि दिए।

यसैक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई लिएर कुनै राजनीतिक विवाद नरहेको दाबी गरे। उनले एमबिबिएस र एमडी कार्यक्रम ल्याउन सबैको सामूहिक प्रयास सराहनीय रहेको उल्लेख गर्दै कसैले पनि बहाना बनाइ प्रतिष्ठानको साखमा धक्का पुर्‍याउन नहुनेमा जोड दिए।

उपकुलपति डा. प्रदीपराज ज्ञवालीले २५ वर्षे विकास योजना, मेडिकल विश्वविद्यालय स्थापना, नियमावली संशोधन, सेवा आयोग गठन र अस्पतालको जग्गा संरक्षणलगायतका दीर्घकालीन योजनाबारे जानकारी दिए। हाल प्रतिष्ठानमा बी.फार्मेसी, ल्याब मेडिसिन, बीपीएच, बीएस्सी नर्सिङ गरी ३५८ विद्यार्थी अध्ययनरत छन् भने यसै सत्रदेखि ५० सिटसहित एमबिबिएस कार्यक्रम थपिएको छ। साथै, सात विषयमा आठ जना विद्यार्थी एमडी तहमा अध्ययनरत छन्।

मुख्यमन्त्री बानियाँले प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालको अवलोकन गर्दै प्रयोगशाला, निर्माणाधीन मोड्युलर अपरेशन कक्ष, नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू), एमडी कक्षाकोठा तथा अन्तिम चरणमा पुगेको २०० शैयाको भवन निरीक्षण गरे।

उनले प्रदेश सरकारको लगानीमा अध्ययनरत एमडी चिकित्सकलाई अध्ययनपछि प्रदेशकै विभिन्न अस्पतालमा परिचालन गर्नुपर्नेमा जोड दिँदै “लगानीको प्रतिफल प्रदेशले नै लिनुपर्छ” भने। हाल सात विषयमा आठ जना एमडी चिकित्सकलाई प्रदेश सरकारकै लगानीमा अध्ययन गराइरहेको छ।

हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भीमसागर गुरागाईंले अस्पतालको समग्र अवस्थाबारे जानकारी दिँदै हाल बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ओपीडी सेवा सञ्चालन भइरहेको बताए।

प्रतिक्रिया