राज्य व्यवस्था समिति सभापतिमा कांग्रेसबाट न्यौपानेले उम्मेदवारी दिने


काठमाडौं — नेपाली कांग्रेस पदाधिकारी बैठकले राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापतिको उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई बनाउने निर्णय गरेको छ ।

मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले समितिका सदस्य समेत रहेकी न्यौपानेलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पार्टी पदाधिकारी बैठकले निर्णयबाट आफूलाई उम्मेदवारी दिन भनिएको न्याैपानेले जनाएकी छिन् ।

समितिका सदस्य दिलेन्द्रप्रसाद बडुलाई सभापति बनाउने तयारी भए पनि अन्तिम समयमा आएर न्यौपानेलाई उम्मेदवार बनाइन लागिएको हो ।

समिति सभापतिका लागि मंगलबार मनोनयन दर्ता र बुधबार निर्वाचनको तालिका छ । कुलिङ पिरियड छेडखानीमा संसदीय समितिले नैतिक जिम्मेवार ठहर्‍याएपछि तत्कालीन सभापति रामहरि खतिवडाले गत साउन २८ मा राजीनामा दिएका थिए ।

रिक्त सभापतिका लागि दिलेन्द्र बडु, सरिता प्रसाई, अम्बिका बस्नेत लगायतका सांसद आकांक्षी देखिएका थिए ।

प्रतिक्रिया