
राज्य व्यवस्था समितिको सभापतिमा निर्वाचन तालिका सार्वजनिक
काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनको तालिका सार्वजनिक भएको छ।
सूचना अनुसार भोलि दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सवा ४ बजे उम्मेदवारहरूको नामावली प्रकाशन गरिनेछ।
निर्वाचन पर्सि दिउँसो ३ बजे समितिको बैठकमा हुनेछ। केवल एक जना उम्मेदवार आएमा सर्वसम्मत निर्णय हुनेछ, जबकि दुई वा बढी उम्मेदवार आएमा मतदान हुनेछ।
सत्तापक्षले कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने तय गरेका छन्। प्रतिपक्षले उम्मेदवार दिने कि नदिने भने अझै तय भएको छैन।
राज्य व्यवस्था समितिमा २७ सदस्य छन्। कांग्रेसका ९ र नेकपा एमालेका ६ सदस्य रहेका छन्। कांग्रेस र एमाले मिल्दा मात्रै बहुमत १५ सदस्य पुग्ने छ। यस बाहेक, सत्तापक्षकै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ सुक्ला, जनमत पार्टीकी अनिता देवी र जनता समाजवादी पार्टी (जसपा) का अशोककुमार राई सदस्य छन्। यी ३ थप्दा सत्तापक्षको संख्या १८ पुग्छ।



कागजपत्र |
