
हैजा प्रभावित वीरगञ्जमा चिकित्सक टोली परिचालन गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
काठमाडाैं- केन्द्रीय सुरक्षा समितिको बैठकले पर्साको वीरगञ्जमा फैलिएको हैजा नियन्त्रण र प्रभावितको उपचारका लागि चिकित्सक टोली परिचालन गर्ने निर्णय गरेको छ। गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको उक्त बैठकमा मुलुकको शान्ति–सुरक्षासम्बन्धी समग्र समीक्षा पनि गरिएको थियो।
बैठकपछि गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिँदै गृहमन्त्रीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई हैजा नियन्त्रणका लागि आवश्यक टोली परिचालन गर्न निर्देशन दिएको बताए। “मन्त्रीज्यूले आवश्यकताअनुसार तुरुन्तै टोली परिचालन गर्ने तयारी गर्न निर्देशन दिनुभएको छ,” प्रवक्ता काफ्लेले भने।
गृहसचिव गोकर्णमणि दुवाडी लगायत सुरक्षा निकायका प्रमुखहरू समेत सहभागी बैठकमा वर्तमान सुरक्षा अवस्था र स्वास्थ्य संकट दुवै विषयमा छलफल गरिएको थियो।
यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र खानेपानीमन्त्री प्रदीप यादवबीच वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणबारे छुट्टै छलफल भएको छ। मन्त्री पौडेलले स्थानीय सरकारसँग समन्वय गरी संक्रमितको तत्काल उपचार, सरकारी तथा निजी अस्पतालमा निःशुल्क परीक्षणको व्यवस्था गरिएको जानकारी दिनुभएको मन्त्री यादवको निजी सचिवालयले जनाएको छ।



कागजपत्र |
