सत्तापक्षकाे सिटमा बस्ने रञ्जिताको इच्छा


काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रतिनिधि सभामा सत्तापक्षमा बस्ने व्यवस्था मिलाइदिन सभामुख देवराज घिमिरेलाई पत्र पठाएको छ।

नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले सभामुखलाई पत्र लेखेर सत्तापक्षतर्फ सिट व्यवस्थापन गर्न आग्रह गरेकी हुन्।

बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले यस्तो पत्र आएको जानकारी गराएका थिए। सो बैठकमा नाउपा संसदीय दलका नेता गंगाराम चौधरी पनि उपस्थित थिए।

यसअघि असार २२ गते नाउपाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रतिपक्षतर्फ बस्ने व्यवस्था मिलाइदिन पत्र पठाएको थियो। त्यसयता नाउपा प्रतिपक्षमा बस्दै आएको थियो।

तर मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दल कार्यालयमा बसेको सत्तापक्ष दलहरूको बैठकमा नाउपाको सहभागिता भएपछि फेरि नीतिगत रूपमा सत्ता पक्षमै बस्ने संकेत देखिएकाे हो।

प्रतिनिधि सभामा नाउपाका ४ जना सांसद रहेका छन्।

प्रतिक्रिया