
आज पनि संसदबाट बाहिरिए रास्वपा र राप्रपा
काठमाडाैं- विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बुधबार पनि संसद बहिस्कारलाई निरन्तरता दिएका छन्। दुबै दलका सांसद बुधबार पनि आफ्नाे कुरा राखेर बाहिरिएका छन्।
रास्वपा पृष्ठभूमिकी उपसभामुख इन्दिरा रानामगरलाई सत्ता गठबन्धनले हटाउने तयारी गरेपछि रास्वपा–राप्रपा झन् आक्रामक बनेका छन्। भिजिट भिसा प्रकणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि उच्चस्तरीय छानबिन माग गर्दै साढे दुई महिनादेखि नै उनीहरूले सदनमा अवराेध तथा बहिस्कार गर्दै आएका हुन्।
बुधबारकाे बैठककाे सुरुमै उठेर विराेध गरेपछि उनीहरूलाई सभामुख देवराज घिमिरेले बाेल्ने समय दिएका थिए। आफ्नाे धारणा राख्दै रास्वपा प्रमुख सचेतक सन्ताेष परियारले उपसभामुख हटाउन लाेकतन्त्रमाथिकै अपमान भएकाे औंल्याए।
यस्तै राप्रपाकी सांसद राेशन कार्कीले पनि उपसभामुख हटाउ हस्ताक्षर गराउने र गर्ने सबैलाई धिकारिन्। आफ्ना गृहमन्त्रीले भिजिट भिसालाई कमाउने भाँडाे बनाउँदा पनि अनदेखा गरेकाे उनले आराेप लगाइन् ।
आफ्नाे कुरा राखिसकेपछि दुबै दलका सांसदहरू सदाझैँ बैठकबाट बाहिरिएका हुन्।



कागजपत्र |
