अन्तर्वार्तामा नर्सलाई ‘बुढाले अर्को बिहे गरेपछि के गर्छौ ?’ भनेर सोधिएपछि…


काठमाडाैं- सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले डोटीमा सञ्चालन गरेको पदपूर्तिका अन्तर्वार्तामा नर्स र कर्मचारीमाथि अपमानजनक प्रश्न गरिएको खुलासा भएको छ । बयालपाटा अस्पतालमा पदपूर्तिका लागि आन्तरिक प्रतिस्पर्धामा अन्तर्वार्ता लिने सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका कर्मचारीले त्यस्ता प्रश्न साेधेकाे कुरा बाहिर आएको हो।

बयालपाटा अस्पतालमा आठ वर्षदेखि कार्यरत एक नर्सलाई अन्तर्वार्ताको क्रममा मन्त्रालयका अधिकृतले “तिम्रा बड्डाले अर्को बिहे गरे के गर्छौ ?” भनेर सोधेका थिए । दुई वर्षको बच्चा लिएर अन्तर्वार्ता दिन गएकी ती नर्स यस प्रश्नले स्तब्ध भइन् । अन्ततः उनको नाम छनोट सूचीमा परेन ।

अन्तर्वार्ताबाट फर्केपछि ती नर्स र अन्य कर्मचारीहरुले अस्पतालमै रोइबसेका थिए । उनीहरुले भने, “हामीलाई छनोटमा नपरेको पीडाभन्दा बढी आत्मसम्मानमा चोट पुर्याउने यस्ता प्रश्नले दुःखी बनायो ।”

अन्तर्वार्ता लिन प्रदेश सरकारका अधिकृत, उपसचिव हेमराज खड्कासहित मन्त्रालयका अन्य कर्मचारी र कन्सल्ट्यान्ट सहभागी थिए । उनीहरुले नर्सिङ वा अस्पताल सेवासँग सम्बन्धित प्रश्न सोध्ने साटो व्यक्तिगत र अपमानजनक प्रश्न गरेको सहभागीहरुको आरोप छ ।

बयालपाटामा दशकभन्दा बढी समय काम गरेका एक कर्मचारीलाई “भुईँमा खसेको कागज नउठाएको” भन्दै टिप्पणी गरियो । अर्का एकजनालाई “तिम्रो पावर कति छ ?” भन्ने प्रश्न सोधियो ।

आईटी शाखामा कार्यरत दीपक बिष्टलाई भने मन्त्रालयका अफिसरहरुले “अस्पतालमा आईटीको काम छैन, तपाईं छनोटमा पर्दैन” भन्दै पन्छाएका थिए । उमेर हदका कारण खुला प्रतिस्पर्धामा आउन नसक्ने बिष्ट आन्तरिक प्रतिस्पर्धाबाटै हटाइएपछि बेरोजगार भएका छन् ।

बयालपाटा अस्पताल विगत केही वर्षयता हाडजोर्नी शल्यक्रियाका लागि सुदूरपश्चिममा चर्चित छ । त्यही अस्पतालमा योगदान दिएका स्वास्थ्यकर्मी र कर्मचारी छनोटमा नपर्नु अन्याय भएको अस्पतालका कर्मचारीहरुको भनाइ छ ।

 

प्रतिक्रिया