भारतद्वारा नेपाली सेनालाई सहयोगी साधन हस्तान्तरण


काठमाडौं- भारतीय सरकारले नेपाली सेनालाई केही सवारीसाधन, घोडा र विपद्पछि हुने घटनाको अनुसन्धानमा प्रयोग हुने कुकर सहयोगस्वरुप उपलब्ध गराएको छ।

नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा ती सहयोग हस्तान्तरण गरेका हुन्।

भारतीय सरकारले नेपाली सेनालाई ६ थान सवारीसाधन, पाँचवटा घोडा तथा विस्फोटन र विपद्पछि खोजी तथा अनुसन्धानमा उपयोगी गुणस्तरका दुई कुकर उपलब्ध गराएको छ। यी सहयोगी साधनहरूले नेपाली सेनालाई अनुसन्धान कार्यमा नतिजामुखी परिणाम हासिल गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।

यसअघि प्रधानसेनापति अशोकराज सिग्देल र विदेशसचिव मिस्रीबीच सैनिक मुख्यालय जङ्गीअड्डामा शिष्टाचार भेटवार्ता भएको थियो। भेटवार्तामा दुई देशबीचको सैनिक सहयोग, सम्बन्ध र आपसी हितका विषयमा विचारविमर्श गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

नेपाल र भारतबीच राजनीतिक तहमा मात्र नभई सैनिक र जनस्तरमा पनि न्यानो तथा प्रगाढ सम्बन्ध रहेको छ। दुई देशका सेना प्रमुखले पारस्परिक सम्मानका रूपमा मानार्थ सेना प्रमुखको उपाधि प्रदान गर्ने परम्परा लामो समयदेखि कायम छ।

साथै, नेपाल–भारतबीच वार्षिक रूपमा ठूलो संख्यामा सैनिक तालिम र प्रशिक्षण कार्यक्रम सञ्चालन हुँदै आएका छन्। समान भाषा, धर्म, संस्कृति र पुरानो मित्रवत् सम्बन्ध तथा खुला सीमाका कारण दुई देशबीच सहज आवतजावतले जनस्तरमा मित्रतालाई अझ प्रगाढ बनाएको छ।

हस्तान्तरण समारोहमा नेपाली सेनाका उच्च अधिकृत र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि उपस्थित थिए।

प्रतिक्रिया