नारायणी किनारमा दुई वटा शव फेला, पहिचानका लागि प्रक्रिया जारी


स्याङ्जा- कालीगण्डकी नदिको किनारबाट बेपत्ता भएकी आमाछोराको शव फेला परेको छ। कालीगण्डकी गाउँपालिका–४ बिर्घा निवासी २७ वर्षीय शिक्षिका श्यामकला पाण्डे र उनका ७ वर्षीय छोरा अर्पित पाण्डेको शव फेला परेको हो।

गत साउन २१ गतेदेखि बेपत्ता रहेका आमाछोराको शव नवलपुरको कावासोति नगरपालिका–१२ पिठौलीस्थित शिव मन्दिर नजिक नारायणी नदी किनारमा फेला परेको कालीगण्डकी गाउँपालिका–४ का वडा अध्यक्ष यादव पाण्डेले जानकारी दिए।

वडा अध्यक्ष यादव पाण्डेका अनुसार, बालक अर्पितको कानको मुन्द्रा र घाटीको मालाले शवको पहिचान गर्न मद्दत गरेको छ। शव महिला र बालकका दुई अलग स्थानमा फेला परेका थिए। महिलाको शव नारायणी नदी किनारमा र बालकको शव करीब ३०० मिटर दूरीमा मध्यबिन्दु नगरपालिका–१२ भूपु कासघारी क्षेत्रमा भेटिएको छ।

शवहरू गलेको अवस्थामा भेटिएका छन्। यद्यपि, प्रहरीले शव पाण्डे आमा–छोराको नै हो कि होइन भन्ने आधिकारिक पुष्टि गरेको छैन। शवको थप पहिचान र आवश्यक प्रक्रिया पूरा गर्न श्यामकलाको परिवार स्याङ्जाबाट कावासोती अस्पतालतर्फ प्रस्थान गरेको छ।

दुवै शवलाई कावासोतिस्थित मध्यबिन्दु प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।

प्रतिक्रिया