तामाकोशीको जलाशय सफा गरिँदै, नदी किनारका वासिन्दालाई सर्तकता अपनाउन आग्रह


काठमाडौं – माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले तामाकोशी र सुनकोशी नदी आसपासका वासिन्दालाई आज बिहान ५ देखि राति ८ बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

दोलखाको विगु गाउँपालिका–१ मा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले उक्त समयमा जलाशय सफा गर्ने भएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको हो ।

तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने लामाबगर, छेतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सुनकोशी नदीको दोभानसम्म नै तामाकोशी नदीको पानीको सतह बढ्ने र घट्ने केन्द्रले जनाएको छ ।

आज बिहान ५ देखि राति ८ बजेसम्म तामाकोशी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, वस्तुभाउ लैजाने, गिटीबालुवा निकाल्ने, गाडी तार्नेजस्ता कार्य नगर्न केन्द्रले आग्रह गरेको छ ।

‘नदी किनारमा परम्पराअनुसार मृतकहरूको दाहसंस्कार वा धार्मिक संस्कार गर्नुपर्दा अत्यन्त सतर्कतापूर्वक एवं सावधानीका साथ गर्न अनुरोध गर्दछौँ,’ केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया