साउदी अरेबियाबाट श्रम वैधानिकिकरण सुरु


काठमाडौं — श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरूको श्रम वैधानिकीकरण प्रक्रिया श्रावण ३० गतेदेखि सुरु भएको छ। नेपाली दूतावास रियादले शुक्रबार आयोजना गरेको विशेष कार्यक्रममा, आठ वर्षदेखि रियादमा कार्यरत अजय दंगालको बायोमेट्रिक लिएर राजदूत डा. नरेश बिक्रम ढकालले वैधानिकीकरण अभियानलाई औपचारिक रूपमा शुभारम्भ गरेका हुन्।

कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले श्रम स्वीकृति बिना नै विदेशमा कार्यरत नेपालीहरूलाई वैधानिक बनाउन दूतावासको पहलप्रति धन्यवाद व्यक्त गरे। उनले श्रम स्वीकृति नहुँदा स्वदेश फर्कन नसक्ने अवस्थाको सिर्जना हुनु मानवीय दृष्टिले समेत अनुचित भएको बताए।

भण्डारीले चाँडै साउदी अरेबियासँग द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर हुने जानकारी दिँदै अबको सेवा प्रविधिमा आधारित हुने बताए।

मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले व्यक्तिगत, कानुनी वा जानकारीको अभावका कारण श्रम स्वीकृति नपाएका नेपालीहरू राज्यबाट पाउने सेवाबाट बञ्चित भइरहेकाले दूतावासमार्फतै वैधानिकीकरणको आवश्यकता रहेको औंल्याए।

राजदूत डा. ढकालले यस अभियानलाई निरन्तर रूपमा सञ्चालन गर्ने योजना रहेको उल्लेख गर्दै यसमा विभिन्न संघ–संस्थाको समन्वय र सहकार्यका लागि आग्रह गरे।

प्रतिक्रिया