वैदेशिक रोजगारीमा गएका नेपाली युवकको पोर्चुगलमा मृत्यु


दोलखा – वैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेका दोलखा जिल्ला तामाकोसी गाउँपालिका–६, च्यामाका ३३ वर्षीय अर्जुनप्रसाद आँपागाईंको मृत्यु भएको छ। करिब ३९ महिनाअघि श्रम स्वीकृति लिएर क्रोएसिया गएका उनी केही महिनापछि पोर्चुगल प्रवेश गरेका थिए।

पोर्चुगल पुगेपछि बेजा जिल्लास्थित एक एजेन्सी कम्पनीमा मजदुरी गर्दै आएका आँपागाईं आइतबार बिहान घाँटीमा सलको पासो लगाएर आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए। नेपाली साथीहरूले मृत अवस्थामा भेटेपछि घटनाबारे उनका भाइ शिवजी आँपागाईंलाई खबर गरेका थिए।

आँपागाईंका वृद्ध बुबाआमा, श्रीमती, एक छोरा र एक छोरी नेपालमै छन्। मृत्यु भएको चार दिन बितिसक्दा पनि उनको शव पोर्चुगलको बेजा अस्पतालको शवगृहमै राखिएको छ। आर्थिक अभावका कारण शव नेपाल ल्याउन नसकिएको मृतकका काका धिरज आँपागाईंले बताए।

उनका अनुसार शव नेपाल ल्याउन आवश्यक रकम जुटाउन नसकिएको मात्र होइन, पोर्चुगलमै अन्तिम संस्कार गर्न पनि नेपाली मुद्रामा ९ देखि १० लाख रुपैयाँ लाग्ने भएकाले खर्चको अभावमा शव अलपत्र परेको हो।

प्रतिक्रिया