
बेनी-जोमसोम-कोरला सडक आजदेखि रातिमा बन्द
काठमाडौंं – बेनी-जोमसोम-कोरला सडक मंगलबारदेखि राति बन्द हुने भएको छ। जिल्ला सुरक्षा समिति मुस्ताङको बैठकले मंगलबारदेखि लागू हुने गरी साँझ ६ देखि बिहान ५ बजेसम्म मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडकखण्ड रातको समयमा अर्को सूचना जारी नभएसम्म बन्द गर्ने निर्णय गरेको हो।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले रातको समयमा बाढीपहिरोका कारण जनधनको क्षतिको उच्च जोखिमलाई मध्यनजर गरी ७६ किलोमिटरको बेनी-जामसोम सडक बन्द गरिएको बताए।
सडकमा भिरालो जमिन, भूमिगत पानी, कमजोर भू-बनावटकै कारण बाढीपहिरोले अवरुद्ध हुने गरेको छ। मुस्ताङको थासाङ गाउँपालिका–४, घोप्टेभीर, म्याग्दीसँग सिमाना जोडिएको काभ्रेभीर क्षेत्रमा सामान्य झरी पर्दा समेत सडकमाथिबाट खसेको सुख्खा पहिरो खस्ने गरेको छ ।
सबैभन्दा जोखिमपूर्ण म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङको थासाङ गाउँपालिकाको सीमा क्षेत्र घाँसा आसपासको क्षेत्र मानिन्छ । बर्खाको समयमा यात्रुले ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
जिल्ला सुरक्षा समिति म्याग्दीसँग समेत समन्वय गरी म्याग्दीबाट समेत रातको समयमा सवारीसाधन मुस्ताङ नपठाउने सहमति भएको प्रजिअ भुसालले बताए । बेनीबाट जोमसोम जाने सवारीसाधनलाई साँझ धार्मिकस्थल गलेश्वर क्षेत्रमा र मुस्ताङबाट बेनी आउने सवारीसाधनलाई घाँसामा रोकिने छ । दुईतर्फबाट बिहान ५ बजेपछि मात्र सवारीसाधन छुट्ने छन्। मुस्ताङ जाने सवारीसाधन साँझ ५ः३० बजेभित्र मुस्ताङको सिमानामा पुगिसक्नुपर्ने छ भने मुस्ताङबाट बेनी आउने सवारीसाधन बेलुकी ६ बजेभन्दाअघि नै छुट्नुपर्नेछ।
बेनी-जोमसोम-कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी-जोमसोम सडक आयोजनाको सडक बेनी-लेतेसम्मको ३८ किलोमिटर सडक खण्डमा दर्जनको हाराहारीमा साना ठूला पहिरा छन् ।



कागजपत्र |
