कैलाली कारागार झडप : शव उठाउने सहमति, परिवारले प्रहरीमा जाहेरी दिए


कैलाली – कैलाली कारागारमा भएको हिंसात्मक आक्रमणमा मृत्यु भएका धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको परिवारले प्रहरीले कारबाहीका लागि जाहेरी दिएको छ।

शुक्रबार राति भएको उक्त घटनामा भरतमाथि आक्रमण गर्ने कैदीहरूलाई पहिचान गरी कानूनी कारवाहीको दायरामा ल्याउन परिवारले जिल्ला प्रहरी कार्यालयमा सोमबार दिउँसो जाहेरी दिएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार जाहेरी प्राप्त भइसकेको छ र अनुसन्धान तीव्र रूपमा अगाडि बढाइएको छ। संलग्न कैदीहरूको पहिचान गरी आवश्यक कारवाही गरिने जानकारी उनले दिएका छन्।

जाहेरी परेपछि सेती प्रादेशिक अस्पतालमा मृतकको शव परीक्षण भइरहेको छ। मृतकका भाइ विजय चौधरीले प्रमुख अधिकारी गोगनबहादुर हमालको दायर गरिएको प्रतिबद्धताप्रति सन्तुष्टि व्यक्त गर्दै छोरीको निशुल्क शिक्षाका लागि पहल गर्ने र दोषीहरूलाई कारवाही गरिने आश्वासन पाएपछि शव बुझ्न तयार भएको बताए।

परिवारले शव परीक्षणपछि दाजुको शव परम्पराअनुसार दाहसंस्कार गर्ने योजना बनाएका छन्। कैलाली कारागारमा लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका भरत चौधरीमाथि कैदीहरूको आक्रमण हुँदा मृत्यु भएको थियो भने उक्त घटना मा ४९ जना कैदी घाइते भएका थिए।

प्रतिक्रिया