
कांग्रेस नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको निधन
काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको ६७ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि क्यान्सरबाट पीडित बस्यालको आज बिहान ८:५० बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३, तातापानीस्थित आफ्नै निवासमा निधन भएको हो।
वि.सं. २००८ माघ १५ गते जन्मिएका बस्याल नेपाल दलित संघका पूर्व अध्यक्ष, संविधानसभा सदस्य (२०६४ र २०७०), नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतका पूर्व उपसभापति तथा नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्य रहेका थिए। उनले नेपाली कांग्रेस र यसको भ्रातृ संस्थाहरूमा विभिन्न पदमा रही पार्टी संगठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए।
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बस्यालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। देउवाले स्वर्गीय बस्यालको योगदान सदैँ स्मरणीय रहने उल्लेख गर्दै उनको आत्माको चीरशान्ति तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।



कागजपत्र |
