एक लाख घुससहित पक्राउ परेका नगरप्रमुखमाथि विशेष अदालतमा मुद्दा


सिरहा- सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। नाली निर्माणको भुक्तानीका लागि एक लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गत असार ३२ गते उनलाई नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार, साहले कल्याणपुर–६ स्थित नाला निर्माण योजना सम्पन्न भएपछि सेवाग्राहीसँग भुक्तानीका लागि बिचौलियामार्फत घुस मागेका थिए। बर्दिवासस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले साहलाई एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरेको हो।

आयोगले साहमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुर लगाएको छ। साथै, एक लाख रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३(१)(ख) अनुसार कैद सजाय र बिगो बराबरको जरिवाना मागदाबी गरिएको छ।

यो आरोपसहित अख्तियारले शुक्रबार विशेष अदालत, काठमाडौंमा साहविरुद्ध आरोपपत्र दायर गरेको हो। साह २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट नगरप्रमुखमा विजयी भएका थिए।

प्रतिक्रिया