
विपिन जोशीको रिहाइका लागि आमा–बहिनी इजरायल जाँदै
काठमाडाैं- प्यालेस्टिनी लडाकु समूह हमासद्वारा अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको मुक्तिको प्रयासलाई तीव्रता दिन उनका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीलाई इजरायल लैजाने तयारी भएको छ।
सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलको किबुजबाट अपहरणमा परेका विपिनको मुद्दा अन्तर्राष्ट्रिय स्तरमा उठाउन नेपालस्थित इजरायली दूतावासले उनीहरूको यात्रा तय गरेको हो। विपिनका दाइ (ठूलोबुवाका छोरा) किशोर जोशीका अनुसार आगामी सोमबारको टिकट समेत काटिसकिएको छ।
“एम्बेसीले सोमबारको टिकट काटेको छ। आन्टी र बहिनीलाई इजरायल लैजाने भनिएको छ। १०–१५ दिनअघि नै बोलाइएको थियो, सबै कागजपत्र तयार भइसकेका छन्,” उनले खबरहबसँग टेलिफोनमा बताए।
इजरायलले उनीहरूलाई संयुक्त राष्ट्रसंघसम्म पुर्याई विपिनको रिहाइका लागि पहल र दबाब सिर्जना गर्ने तयारी गरेको छ।
‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिन, हमासको आक्रमणमा परी अपहरणमा परेका थिए। सोही घटनामा उनका साथमा रहेका १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने कूल १,२०० जनाको मृत्यु भएको थियो।
हमासले विपिनसहित २५१ जनालाई बन्धक बनाएको थियो। हमासको आक्रमणपछि तत्कालीन परराष्ट्रमन्त्री एनपी साउद स्वयं तेल अविव पुगेर इजरायलमा फसेका नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याएका थिए।



कागजपत्र |
