कामको प्रलोभनमा भारत लगेर मिर्गौला निकालियाे, बयानपछि अभियुक्त समातिए


काठमाडौं- सिन्धुलीका एक युवकको भारतमा जबर्जस्ती मिर्गौला निकालिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण पंगेनीका अनुसार पक्राउ पर्नेमा नुवाकोटका समिर परियार रहेका छन्। उनलाई काठमाडौंबाट पक्राउ गरिएको हो। परियारविरुद्ध आवश्यक अनुसन्धान भइरहेको पंगेनीले जानकारी दिए।

सिन्धुलीको दुधौली नगरपालिका–१ का २४ वर्षीय खिलबहादुर भुजेलको भारतमा मिर्गौला निकालिएको खुलेको छ। उनलाई पोखराबाट काम दिने प्रलोभनमा पारी भारत पुर्‍याइएको थियो। पोखरामा भेटिएका एक भारतीय नागरिकले होटलमा वेटरको काम लगाइदिने भन्दै भारत लगेका थिए।

भारत पुगेपछि गिरोहले भुजेललाई बन्धक बनाएर उनको मिर्गौला झिकेको बताइएको छ। करिब १० दिनपछि उनी काठमाडौंको कलंकीमा आइपुगेका थिए। भारतबाट फर्कने क्रममा गाडी चढेर काठमाडौं पुगेका उनले कम्मरमा अस्वाभाविक पीडा महसुस गरेका थिए।

घर फर्किएपछि उनले परिवारलाई दुखाइको बारेमा बताए। साथै, कम्मरको देब्रेपट्टि टाँका लगाइएको देखिएको थियो। त्यसपछि अस्पतालमा जाँच गराउँदा चिकित्सकहरूले उनको एउटा मिर्गौला नै निकालिएको पुष्टि गरेका थिए।

 

प्रतिक्रिया