
अस्पताल जाने भन्दै निस्किएकी महिला छोरासहित बेपत्ता, कालीगण्डकी किनारमा भेटियो मोबाइल र खेलौना
स्याङ्जा- स्याङ्जाको गल्याङ नगरपालिका–५, सेतीवेणीस्थित कालीगण्डकी नदी किनारमा महिलाको झोला, चप्पल, मोबाइल र सानो खेलौना कार फेला परेको घटनापछि आमा र छोरा बेपत्ता भएको आशंका गरिएको छ।
पछिल्लो जानकारीअनुसार ती सामग्री कालीगण्डकी गाउँपालिका–४, बिर्घा निवासी २७ वर्षीया श्यामकला पाण्डे र उनका ६ वर्षीय छोरा अर्पित पाण्डेको भएको खुलेको छ। उनीहरू सोमबार साँझदेखि सम्पर्कविहीन छन्।
श्यामकलाले माइत जान्छु भनेर घरबाट निस्किएको बताइएको छ। स्थानीय वडाध्यक्ष यावदप्रसाद पाण्डेयका अनुसार उनी सोमबार बिहान ससुरालाई अस्पताल लैजाने भन्दै घरबाट हिँडेकी थिइन्। तर केही समयमै उनी सम्पर्कविहीन भइन्। त्यसको केही घण्टापछि सेतीवेणीस्थित नदी किनारको प्रतीक्षालयमा उनको झोला, मोबाइल, चप्पल, छोराको जुत्ता र खेलौना कार भेटिएपछि स्थानीयमा शंका पैदा भयो।
सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म, स्याङ्जाबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन गरी खोजी कार्य थालिएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानको आधारमा श्यामकलाले छोरालाई लिएर नदीमा हामफालेको हुन सक्ने आशंका व्यक्त गरेको छ।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले अहिले विस्तृत खोजी भइरहेको र श्यामकला र अर्पितको अवस्था अझै अज्ञात रहेको जानकारी दिए।
वडाध्यक्ष पाण्डेयले श्यामकलाको परिवार राम्रो भएको र यसरी अचानक बेपत्ता भएको घटनाले सबैलाई अचम्ममा पारेको बताए। उनका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा थिए।
आमाछोरा नदीमा हामफालेको हुन सक्ने आशंका गरिए पनि पुष्टि भइनसकेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।



कागजपत्र |
