कुलिङ पिरियड प्रावधानको गडबडीबारे संसदीय प्रतिवेदन सभामुखलाई बुझाइयो


काठमाडौं – संघीय निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा गडबडी भएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ। नेपाली कांग्रेसका सांसद जीवन परियारको अध्यक्षतामा रहेको समितिले मंगलबार बिहान सर्वसम्मत रूपमा तयार पारेको प्रतिवेदन घिमिरेसमक्ष पेश गरेको हो।

उक्त समितिले निजामती कर्मचारीले राजीनामा दिएपछि वा अवकाश लिएपछि संवैधानिक निकायमा नियुक्तिका लागि अनिवार्य दुई वर्ष कुर्नुपर्ने (‘कुलिङ पिरियड’) भन्ने प्रावधान कसरी खारेज भयो भन्नेबारे छानबिन गरेको थियो।

समितिको प्रतिवेदनमा प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई यो प्रक्रियामा नैतिक जिम्मेवार ठहर गरिएको छ। साथै, मुख्यसचिव एकनारायण अर्यालसहितका कर्मचारीहरू पदीय मर्यादा विपरीत कार्यमा संलग्न भएको उल्लेख गरिएको छ।

प्रतिवेदनमा कानुनी प्रक्रिया बेवास्ता गर्दै विधेयक संशोधन गरिनु गम्भीर लापरवाही भएको भन्दै सुधार र जवाफदेहिताका लागि कडाइका साथ सिफारिस गरिएको छ। सभामुख घिमिरेले प्रतिवेदन प्राप्त गरेपछि आवश्यक प्रक्रियाअनुसार अघि बढाइने बताएका छन्।

 

प्रतिक्रिया