पाल्पामा तीन स्थानमा सडक अवरुद्ध, सिद्धबाबा क्षेत्रमा पहिरो


तानसेन- अविरल वर्षाका कारण पाल्पाका विभिन्न स्थानमा राजमार्ग तथा ग्रामीण सडकहरू पहिरोले अवरुद्ध भएका छन्। सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डअन्तर्गत सिद्धबाबा क्षेत्रमा ठूलो चट्टानसहितको पहिरो खस्दा यातायात पूर्ण रूपमा ठप्प भएको छ।

सोमबारदेखि नै निरन्तर पहिरो झर्दै आएको सिद्धबाबा क्षेत्रमा मंगलबार बिहान पुनः ठूला ढुंगा र माटोसहितको पहिरो खस्दा दुवैतर्फको सडक बन्द भएको दोभान प्रहरी चौकीले जनाएको छ। प्रहरीका अनुसार वर्षा नरोकिँदासम्म पहिरो हटाउने प्रयास सम्भव छैन।

यस्तै, आर्यभञ्ज्याङ–रामपुर सडक पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरी चौकी आर्यभञ्ज्याङले तीव्र वर्षापछि पहिरो खस्दा सडक सञ्चालनमा कठिनाइ भएको जनाएको छ।

तानसेन–तम्घास सहायक राजमार्गको हार्थोक–रिडी खण्डअन्तर्गत माल्मुङमा पनि पहिरो खसेपछि सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ। लगातार तीन दिनदेखि परेको झरीका कारण पहाडी भूभागमा जोखिम बढेको छ।

यातायात सेवा अवरुद्ध हुँदा यात्रुहरू बिचल्लीमा परेका छन् भने स्थानीय प्रशासन र सुरक्षाकर्मीहरू जोखिम मूल्याङ्कन गरी पहिरो हटाउने तयारीमा जुटिरहेका छन्।

 

प्रतिक्रिया