राष्ट्रपतिसँग एक घन्टा वार्ता भएपछि युटर्न भए एमाले नेता खनाल

प्रचण्डको एमाले भत्काउने राजनीतिक खेल निस्तेज पार्न शितलनिवास सक्रिय


काठमाडौं– आन्तरिक विवाद र समानान्तर गतिविधि भइरहेको नेकपा एमाले मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारीको अनौपचारिक सक्रियता सुरु भएको छ।

यसको पछिल्लो उदाहरण विरामी रहेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीइतर माधवकुमार नेपाल समूहका नेता झलनाथ खनाललाई भेट वार्ता गर्नु हो।

उपचार गरी घरमा नै आराम गरेका खनाललाई भेट्न राष्ट्रपति भण्डारी उनको निवासमा पुग्नु स्वास्थ्यको जानकारी मात्रका लागि नभएको खुलेको छ। खनाल आफैंले पनि यस विषयको खुलासा गरिसकेका छन्।

उनले भनेका छन्,‘स्वास्थ्य अवस्थाबारे राष्ट्रपति निवासमा नै आएर बुझ्नुभयो, शुभेच्छा दर्शाउनुभयो। राजनीतिक विवादलाई मिलाउनका लागि पनि पहल लिन अनुरोध गर्नुभयो, यो खुसीको कुरा हो।’

यसपछि भने खनाल एमालेभित्रको विवाद समाधानका लागि अग्रसर हुने भएका छन्। उनले भनेका छन्,‘अब एमालेको विभाजित अवस्थालाई सुधारेर लैजाने जिम्मेवारी लिन्छु।’

राष्ट्रपति भण्डारीसँगको भेटपछि भने प्रधानमन्त्री ओलीको खरो विरोधमा उत्रिएका खनालले युटर्न लिएका छन्। उनले बरिष्ठ नेताको हिसाबले अब विवाद मिलाउने र सहमति गराउने जिम्मेवारी पनि लिने भएका छन्।

यसअघि एमाले उपाध्यक्ष बामदेव गौतम एकीकरण अभियानमा सक्रिय रहेका थिए। गौतम पनि कुनै हालतमा एमाले विभाजनमा जान नहुने पक्षको लविङमा छन्।

उता माधवकुमार नेपाल समूहले समानान्तर गतिविधि गरे पनि एकता जोगाउनमा दृढताका साथ लाग्ने निर्णय गरेको छ। राष्ट्रपति भण्डारीको मध्यस्ततामै एमालेको मतभेद हटाउने प्रयत्न भएको छ।

उच्च स्रोतले भन्यो,‘एमाले संगठित र आन्तरिक विवादलाई समाधान गर्दै हिँडेको पार्टी हो, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रयोगका आधारमा विभाजित हुन सक्तैन।’

तत्कालिन नेकपामा पनि विभिन्न चरणमा विवाद हुँदा शितलनिवास सक्रिय हुने गरेको थियो। तर प्रधानमन्त्री ओलीलाई जसरी पनि नेतृत्वबाट च्युत गराउन प्रचण्ड सक्रिय हुँदा नेकपा विभाजनसम्म पुगेको थियो।

प्रतिक्रिया