प्रचण्डले गुटीय आधारमा कार्यविभाजन गरे : जनार्दन शर्मा


काठमाडाैं- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गुट केन्द्रित शैलीमा अगाडि बढेको आरोप लगाएका छन्।

पार्टीको जारी स्थायी समिति बैठकमा बोल्दै शर्माले कार्यविभाजन गुटीय सोचका आधारमा गरिएको गम्भीर आरोप लगाउँदै भने, “समस्याको प्रारम्भ कहाँबाट भयो भन्ने कुरा कार्यविभाजनमै देखिन्छ। अध्यक्षले गुटको दृष्टिकोणले कार्यविभाजन गर्नुभयो।”

उनले पार्टी एकताबाट आएका नेताहरू र अन्य वरिष्ठ नेताहरूमाथि अपमानजनक व्यवहार गरिएको भन्दै असन्तुष्टि जनाए। “एकताबाट आएका र अन्य सिनियरहरूलाई ह्युमिलियट गरियो। कार्यविभाजन पूर्वाग्रही र विभेदकारी ढंगले गरियो,” शर्माले भने, “केन्द्रीय समिति बैठक सकिनेबित्तिकै अध्यक्षले धेरै ठाउँमा महाधिवेशन नगर्ने कुरा गर्नुभयो।”

उनले पार्टी अभियान सुरुमा प्रभावकारी भए पनि क्रमशः कमजोर बन्दै गएको उल्लेख गरे। “प्रारम्भमा अभियान प्रभावकारी भयो, तर मधेस प्रदेशपछि कमजोर हुँदै पश्चिमतिर पुग्दासम्म अभियान कार्यकर्ता केन्द्रित मात्र बन्न पुग्यो। नेतामुखी भयो,” शर्माले बताए।

शर्माका अनुसार टिम परिचालनमा पनि नेताको इच्छा र मनपरी हाबी भएको छ। “टिम परिचालनमा मनोमानी गरियो, अभियानमा जानेलाई प्रतिबन्ध लगाइयो,” उनले थपे।

प्रतिक्रिया