भारतमा तीर्थयात्री बोकेको जिप दुर्घटना, ११ जनाको मृत्यु


काठमाडौं- भारतको उत्तरप्रदेशस्थित गोंडा जिल्लामा तीर्थयात्री बोकेको जिप दुर्घटनामा पर्दा ११ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

इटियाथोक क्षेत्रको बेलवा बहुता रेहरा पुल नजिकै आइतबार तीर्थयात्री बोकेको जिप अनियन्त्रित भई नहरमा खसेको हो। जिपमा १५ जना सवार थिए।

इटियाथोक प्रहरीका अनुसार तीर्थयात्रीहरू मोतीगञ्ज सिहागाउँबाट पृथ्वीनाथ मन्दिरमा जलाभिषेक गर्न गइरहेका थिए।

घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्। उनले मृतकका परिवारलाई २ लाख र घाइतेहरूलाई ५० हजार भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन्।

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि मृतक परिवारलाई ५ लाख रुपैयाँ दिने घोषणा गर्दै घाइतेहरूको उपचारका लागि तुरुन्त व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

दुर्घटनापछि घटनास्थलमा उद्धार कार्य गरिएको छ र थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया