
आज राजीनामा दिँदै बागमती मुख्यमन्त्री बहादुर सिंह लामा, अब मुख्यमन्त्री बन्दै इन्द्र बानियाँ
काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज पदबाट राजीनामा दिने तयारी गरेका छन् ।
मुख्यमन्त्री लामाको राजीनामा आजै आउने भएपनि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा काठमाडौंको ग्रान्डी अस्पतालमा उपचाररत रहेकाले केही ढिला हुनसक्ने देखिएको छ ।
प्रदेश प्रमुख देवकोटा हेटौँडा फर्किएपछि मुख्यमन्त्रीले राजीनामा बुझाउने तयारी छ । तर उनी समयमै नफर्किए राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री लामामाथि राजीनामाको दबाब नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा भएको निर्वाचनमा पराजित भएपछि आएको हो । उनले उक्त निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजय व्यहोरेका थिए । कांग्रेस संसदीय दलको नेता चयनका लागि भएको मतदानमा बानियाँले २२ मत ल्याउँदा लामाले १४ मत ल्याएका थिए ।
लामाको राजीनामापछि बागमती प्रदेशको नयाँ मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ हुने निश्चित छ । प्रदेश सरकारको नेतृत्व गर्ने विषयमा कांग्रेस र नेकपा एमालेबीच एक वर्षअघि भएको सहमतिअनुसार बानियाँले आगामी आठ महिना मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् ।



कागजपत्र |
