
‘लोकतन्त्रको पहरेदार’ कांग्रेसमा एकलौटी, जुम्लामा सहमहामन्त्री र तरुण अध्यक्षको हस्तक्षेप
काठमाडौं– नेपाली कांग्रेसले ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ भन्ने मूल नारालाई अंगीकार गर्दै आफूलाई लोकतन्त्रको पहरेदार र अगुवा दलको रूपमा प्रस्तुत गर्दै आएको छ। लोकतन्त्र, प्रजातन्त्र र नागरिक अधिकारका पक्षमा लामो संघर्ष गरेको यस पार्टीको योगदानलाई नकार्न कठिन छ। तर, पार्टीभित्रको लोकतन्त्रलाई जीवन्त राख्न भने कांग्रेस क्रमशः असफलतातर्फ अग्रसर देखिन थालेको छ।
नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (बिपी) कोइरालाले भनेका थिए, ‘हाम्रो विरोध कटुताविहीन र सैद्धान्तिक हुनुपर्छ, व्यक्तिगत हुनु हुँदैन।’ तर उनै कोइरालाले स्थापना गरेको पार्टीमा विगतदेखि हालसम्म आन्तरिक विवादहरू सैद्धान्तिकभन्दा व्यक्तिगत रूप लिँदै आएका छन्।
१४औँ महाधिवेशनमा सभापति पदका आकांक्षी रहेका शेरबहादुर देउवा मतदाताहरूको बीचमा दिउँसो ३ बजेदेखि राति अबेरसम्म बसेर भोट मागिरहेका थिए। तत्कालीन प्रधानमन्त्री समेत रहेका देउवा कहिले कुर्सीमा बसेर त कहिले उठेर मतदातासँग मत मागिरहेका थिए। निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाएर सभापति बनेका देउवाकै कार्यकालमा भने केही स्थानमा निर्वाचन नगरी एकलौटी निर्णय भएको देखिएको छ।
यस्तै एक घटना जुम्लामा भएको हो, जहाँ टिके प्रथाद्वारा नेपाल तरुण दलको जिल्ला कार्यसमिति तथा महाधिवेशन प्रतिनिधि चयन गरिएको खबर सार्वजनिक भएको छ। तरुण दलको ५औं जिल्ला अधिवेशनमार्फत अध्यक्षसहितको कार्यसमिति र केन्द्रीय प्रतिनिधि चयनका लागि साउन १२ गते मतदान हुने भनिएको थियो। तर, मतदान स्थगित गरेर बिहीबार हेमबहादुर बुढाथोकीलाई अध्यक्ष तोक्दै ३० जना सदस्यको नाम सार्वजनिक गरिएको हो।

उक्त प्रक्रिया बिना निर्वाचन सम्पन्न गरिएको भन्दै आलोचना भएको छ। निर्वाचन सम्पन्न गराउन केन्द्रीय प्रतिनिधिका रूपमा खटिएका रमेश मल्ल र सरोज शाहीलाई साथमा राखेर तरुण दलका केन्द्रीय अध्यक्ष विध्वान गुरुङ र नेपाली कांग्रेसकी सहमहामन्त्री डिना उपाध्यायले संस्थापन पक्षका व्यक्तिहरूलाई निर्वाचित गराएको आरोप लागिरहेको छ।
यस प्रक्रियाको सशक्त विरोध भएको छ। अध्यक्ष पदका उम्मेदवार सञ्जिव शाही, रतन शाही, बिरेन्द्रबहादुर शाही, भरतबहादुर शाहीलगायतले सहमति नबनी निर्वाचन प्रक्रियालाई अघिअघि नबढाएको भन्दै सार्वजनिक गरिएको कार्यसमिति तथा महाधिवेशन प्रतिनिधिहरूको नामावली गैरकानुनी रहेको विज्ञप्तिमार्फत् बताएका छन्।

त्यस्तै, ‘केही समूह र व्यक्तिहरूले गलत मनसायले कार्यसमिति तथा प्रतिनिधिहरू छनोट गरेका छन्’ भन्दै सञ्जिव रावलको अध्यक्षतामा समानान्तर समिति समेत गठन गरिएको छ।
यस विवादको सुरुवात जिल्ला सचिव अर्जुन सिंह कठायतले निर्वाचन अधिकारीलाई पत्र लेखी मतदान प्रक्रिया अघि बढाउन निर्देशन दिएको समयदेखि भएको हो। तर, निर्वाचन प्रक्रिया अवरुद्ध गर्दै जिल्ला कमिटीलाई बाइपास गरेर आफू निकट व्यक्तिहरूलाई निर्वाचित गराउने कार्यमा तरुण दलका अध्यक्ष विध्वान गुरुङ र निर्वाचन संयोजक समेत रहेकी सहमहामन्त्री डिना उपाध्यायको संलग्नता रहेको आरोप पनि सार्वजनिक रूपमा उठेको छ।
यो विषयमा अध्यक्ष गुरुलाई सम्पर्क गरी उनको प्रतिक्रिया लिने प्रयास गरियो। तर उनको फोन उठेन।




कागजपत्र |
