फेसबुक–टिकटकमा यौनशक्ति बढाउने औषधिको भ्रमपूर्ण प्रचार


काठमाडौं- औषधि व्यवस्था विभागले चिकित्सकीय प्रमाण नहुँदै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरूमा व्यापक रूपमा प्रचारित केही औषधिजन्य वस्तुको बिक्री–वितरण तत्काल रोक्न निर्देशन दिएको छ। विभागले ती उत्पादनहरू जनस्वास्थ्यका लागि गम्भीर खतरा हुन सक्ने भन्दै औषधिको नाम र तस्बिरसहित अत्यन्त जरुरी सार्वजनिक सूचना जारी गरेको हो।

फेसबुक, टिकटक, युट्युब लगायतका माध्यममा थाइराइड, प्रोस्टेट, सुगर, युरिक एसिड, मोटोपन, यौनशक्ति वृद्धि, जाँड रक्सी छुटाउने तथा क्यान्सरजस्ता गम्भीर रोगसम्बन्धी औषधि पूर्ण रूपमा निको पार्ने दावी गर्दै प्रचार भइरहेकामा विभागले गम्भीर चासो व्यक्त गरेको छ।

विभागले प्रेस्क्रिप्सनविनै यस्ता औषधिको प्रयोग गर्नु गम्भीर स्वास्थ्य जोखिम निम्त्याउने भन्दै जनतालाई सचेत रहन आग्रह गरेको छ। वैज्ञानिक परीक्षण र गुणस्तर प्रमाणीकरणबिनै प्रचार गरिएको यस्ता औषधि सेवनले गम्भीर साइड इफेक्ट उत्पन्न हुनसक्ने विभागले जनाएको छ।

विभागका महानिर्देशक नारायण ढकालद्वारा जारी सूचनामा भनिएको छ, “विज्ञापनमार्फत भ्रम फैलाउने, औषधिलाई रोगको निश्चित उपचारको रूपमा ग्यारेन्टी दिने, यौनशक्ति वृद्धिको आधारहीन दावी गर्ने क्रियाकलापहरू तुरुन्त बन्द गर्न जरुरी छ। यस्ता औषधिले नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ।”

विभागले यस्ता औषधिजन्य सामग्री नसेवन गर्न उपभोक्तालाई आग्रह गर्दै उत्पादन, ओसारपसार र बिक्री वितरण गर्नेहरूमाथि कानुनी कारबाही अघि बढाइएको जानकारी दिएको छ। औषधि व्यवस्था ऐन अनुसार यस्ता कार्य गैरकानुनी रहेको र यस्ता विज्ञापन तुरुन्त सामाजिक सञ्जालबाट हटाउनुपर्ने विभागले चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया