क्यालिफोर्नियामा अमेरिकी एफ–३५ लडाकु विमान दुर्घटना


काठमाडाैं- अमेरिकी नौसेनाको एक एफ–३५ लडाकु विमान क्यालिफोर्नियाको केन्द्रीय भागमा पर्ने नेवल एयर स्टेशन लेमोर नजिकै बुधबार दुर्घटना भएको छ। नौसेनाले जारी गरेको विज्ञप्तिअनुसार विमान साँझ करिब ६:३० बजे दुर्घटनामा परेको हो।

दुर्घटनाका बेला पाइलटले प्याराशुटको प्रयोग गरेर समयमै बाहिर निस्कन सफल भएको जनाइएको छ। घटनाको कारणबारे हाल अनुसन्धान भइरहेको छ। दुर्घटना स्थल फ्रेस्नो सहरबाट करिब ४० माइल (६४ किलोमिटर) दक्षिण–पश्चिममा रहेको, खेतबारीले ढाकिएको खुला मैदान हो।

करिब १०० मिलियन अमेरिकी डलर मूल्य पर्ने यो एफ–३५ लडाकु विमानको यो वर्षको दोस्रो दुर्घटना हो। यसअघि, जनवरी महिनामा अलास्काको एलसन एअर फोर्स बेसमा यस्तै प्रकारको एफ–३५ विमान दुर्घटनामा परेको थियो, जसमा पनि पाइलट सकुशल बच्न सफल भएका थिए।

एफ–३५ विमान अमेरिकी सेनाको पाँचौं पुस्ताको अत्याधुनिक लडाकु विमान हो। यो लकहिड मार्टिन कम्पनीले निर्माण गरेको हो र यसमा स्टेल्थ प्रविधि, उच्च लडाइँ क्षमता र उन्नत प्रविधीय संयन्त्रहरू छन्। विश्वभर १७ भन्दा बढी देशहरू यस एफ–३५ कार्यक्रमको हिस्सा छन्।

तर पछिल्ला केही वर्षयता एफ–३५ विमानको मर्मत, तयारी र सञ्चालन लागतसम्बन्धी समस्या देखिँदै आएका छन्, जसका कारण यो विमान आलोचनाको घेरामा पनि परेको छ।

 

प्रतिक्रिया