नरदेवीमा बङ्गलादेशी नागरिकको हत्या, एक जना पक्राउ


काठमाडौं- काठमाडौं महानगरपालिका–१२ स्थित नरदेवीमा बङ्गलादेशका नागरिक सुब्रत पालको हत्या भएको छ। ५५ वर्षीय पालको हत्या बुधबार बिहान करिब ३ बजेतिर भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिएका छन्।

मृतक सुब्रत पाल सुनका गहना बनाउने काम गर्दै आएका थिए। उनलाई फलामको वस्तुले टाउकोमा प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले घटनामा संलग्न एक अभियुक्तलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–२ निवासी ४२ वर्षीय श्याम कालिकोटे छन्। उनलाई काठमाडौंको गोङ्गबुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सुब्रत पाल नरदेवीमा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए। उनका सहयोगीले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। हाल घटनाबारे थप अनुसन्धान प्रहरी वृत्त जनसेवाले गरिरहेको छ।

प्रतिक्रिया